नयाँ दिल्ली, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको कार्यान्वयनको प्रक्रिया सुरु भएको बताउनुभएको छ ।
नेपाली दूतावास नयाँ दिल्लीले आयोजना गरेको नेपाली समुदायसँगको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान र सङ्घीयताको कार्यान्वयनको प्रक्रियाले गति लिएको र त्यसका लागि आफ्नो नेतृत्वको सरकारले विशेष पहल गरिरहेको बताउनुभयो । संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि सबै पक्षसँगको सहमतिलाई आफूले विशेष जोड दिएको र केही सफलता हात लागेको पनि उल्लेख गर्नुभयो ।
संविधानको सर्वस्वीकार्यता बढाउनका लागि आफूले सक्दो पहल गरिरहेको र असन्तुष्टको मागलाई समेत निकट भविष्यमा नै सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ थियो । संविधान मुलुकको साझा दस्तावेज भएकाले सबै पक्षको भावनालाई सम्बोधन गर्नु र उनीहरुलाई साथै लिएर जानुपर्ने आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभयो ।
शान्ति प्रक्रियाका बाँकी रहेका विषयलाई सम्बोधन गर्ने प्रयासमा आफू रहेको जानकारी दिँदै प्रधानमन्त्रीले प्रवासी नेपाली समुदायको भावनालाई सम्मान गर्दै उनीहरुलाई मुलुक निर्माणको महाअभियानमा साथै लिएर जान तयार रहेको बताउनुभयो । उहाँले संविधानको कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको र त्यसलाई अगाडि बढाउन प्रवासी नेपालीको पनि प्रमुख दायित्व रहने भएकाले सरकारसँग मिलेर काम गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा मूल प्रवाह अखिल भारत–नेपाली एकता समाज, प्रवासी नेपाली सङ्घ भारत, अखिल भारत–नेपाली एकता मञ्च, जनसम्पर्क समिति भारत लगायत प्रतिनिधिले सीमा क्षेत्रमा नेपालीले भोग्नु समस्या, बैंक तथा वित्तीय संस्थामा नेपाली समुदायले भोग्नुपरेको व्यवधान लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीले प्रवासी नेपाली समुदायको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने र भारत सरकारसँग नेपालीको समस्याबारे कुराकानी गर्ने विश्वास दिलाउनुभएको थियो ।