काठमाडौँ, “कुनैपनि साँचोले ताल्चाको पूर्वानुमान दिन्छ तर यो महान् र खुला काठमाडाँै नगरमा कुनै ताल्चा छैन, त्यसैले म यसलाई काठमाडौँका जनताको हृदयको सुनौलो साँचो ठान्दछु, यस्तो साँचोभन्दा बहुमूल्य अरु कुनै वस्तु छैन ।”
नेपालको भ्रमणमा आउनुभएका तत्कालीन भारतका राष्ट्रपति केआर नारायणन्ले २०५५ साल जेठ १५ गते काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्ने क्रममा यस्तो अभिव्यक्ति दिनुभएको थियो ।
नेपालको मैत्रीपूर्ण राजकीय भ्रमणमा आउने छिमेकी राष्ट्र प्रमुखलाई काठमाडाँै नगरको कलात्मक भोटे ताल्चाको साँचो प्रदान गर्ने परम्परा छ । नेपालको तीनदिने भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रिय सभागृहमा बिहीबार आयोजना हुने विशेष समारोहमा काठमाडौँ महानगरकातर्फबाट नागरिक अभिनन्दन गर्नुका साथै कलात्मक साँचो प्रदान गरिने कार्यक्रम रहेको छ ।
साथै, विशिष्ट पाहुनालाई भाद्गाउँले टोपी र पशुपतिनाथको मन्दिरको कलात्मक प्रतिकृति उपहार दिने चलन रहिआएको छ । भारत र नेपालबीच कुनै ढोका र पर्खाल नभएको उल्लेख गर्दै अभिनन्दनका क्रममा तत्कालीन राष्ट्रपति केआरले भन्नुभएको थियो– “साँचो हाम्रा दुई देशबीचको खुला सम्बन्धको प्रतीक हो ।”
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारत र भर्खर भर्खर लोकतन्त्रको अभ्यासमा रहेको नेपालबीच जनस्तरमा निकै बलियो सम्बन्ध रहिआएको छ ।
नेपाल र भारतबीच रहिआएको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई दुवै देशका तीर्थस्थलले अझ निकटता र मित्रवत् तुल्याउँदै आएको छ । काठमाडाँैको पशुपतिनाथ र भारतको काशी, मथुरा, बृन्दावन, रामेश्वर, जगन्नाथ, बद्री र केदारनाथजस्ता तीर्थस्थलमा एकअर्का देशका तीर्थयात्रीको बारम्बार आवतजावत हुने गर्दछ ।
नेपाल र भारतबीच रहिआएको गहिरो र भाइचाराको सम्बन्धलाई विश्व जगत्बाट सराहना भइआएको छ । खुला सिमाना र बिनाकागजात एक देशका जनता अर्काे देशमा ओहोरदोहर गर्ने अवसर विश्वका अन्य देशमा विरलै रहेको छ ।
राष्ट्रपति मुखर्जीको आजदेखि सुरु भएको तीनदिने राजकीय भ्रमणबाट दुई देशबीचको सामाजिक, सांस्कृतिक र जनस्तरमा रहिआएको सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।
राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतका राष्ट्रपति मुखर्जीले भारतको भ्रमण गर्न निम्तासमेत दिनुभएको छ । भेटका क्रममा मुखर्जीले राष्ट्रपति भण्डारीलाई आफ्नै कार्यकालमा भारतीय राष्ट्रपति निवासमा स्वागतका लागि प्रतीक्षारत रहेको बताउनुभएको थियो ।
राष्ट्रपति भण्डारीले भारतीय समकक्षीबाट भएको भ्रमणको निमन्त्रणाप्रति धन्यवाद प्रकट गर्नुभएको छ ।
सो अवसरमा भारतका राष्ट्रपति मुखर्जीले आफूप्रति नेपाली जनताले दिलैदेखि गरेको न्यानो आतिथ्य र अभिवादनप्रति आभार व्यक्त गर्नुभयो । भूकम्पको चपेटामा परेका बेलामा नेपाली जनताको उद्धार, राहत र पुनःनिर्माणमा सहयोग गर्न पाएको उहाँले स्मरणसमेत गर्नुभएको थियो ।
दुवै देशका राष्ट्रपतिबीच पूर्वाधार निर्माण, जलविद्युत् विकास र सम्पर्क सञ्जाल विस्तारका बारेमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीसँगको भेटवार्तामा भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभालाई बधाई ज्ञापन गरेबाट संविधानका बारेमा सुनिँदै आएका टीकाटिप्पणी समेत फिक्का सावित भएका छन् ।
संविधानसभाबाट ९५ प्रतिशत सांसदको हस्ताक्षरबाट जारी भएको नेपालको संविधान विश्वका अरु लोकतान्त्रिक मुलुक संविधानको तुलनामा निकै समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको दस्तावेजका रुपमा हेर्ने गरिएको छ ।
नेपालको संविधानका केही अन्तरवस्तुप्रति असहमति जनाउँदै मधेसवादी दलबाट हँुदै आएको आन्दोलनका मागलाई सम्बोधन गर्न अहिले नेपाल सरकार संविधान संशोधनको तयारीमा जुटिरहेको छ ।
विश्वका उत्कृष्ट मानिएका संविधानका सबै मूल्य मान्यतालाई अनुशरण गरेर निर्माण गरिएको नेपालको संविधान २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले जारी भएको घोषणा गर्नुभएको थियो ।