संविधान संशोधनका विषयमा ठोस निर्णय गर्ने – गठबन्धन

प्रकासित मिति: १३ मंसिर २०७३, सोमबार १३:३५

काठमाडौँ, १३ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले सरकारसँग भएका वार्ताको समीक्षा गर्दै आगामी बैठकमा संविधान संशोधनका बारेमा ठोस निर्णय गर्ने भएको छ ।

सङ्घीय समाजवादी फोरमको कार्यालयमा  बसेको बैठकले सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्न ढिलो गरेको अवस्थामा लिने निर्णयका विषयमा समीक्षा गरिएको थियो ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो राजधानी बाहिर रहेकाले  ठोस निर्णय नभएको सद्भावनाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय गठबन्धनले संविधान संशोधनका लागि दिएको १५ दिने समय सीमा सकिएपनि सबै नेता काठमाडौँमा नभएकाले ठोस निर्णय नभएको हो ।

उहाँले भन्नुभयो, “बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएका औपचारिक एवम् अनौपचारिक बैठकको समीक्षा भयो । आगामी बैठकले संशोधनको प्रस्ताव दर्ता भए त्यस विषयमा र नभए आन्दोलन गर्ने विषयमा निर्णय गर्नेछ ।”

त्यसैगरी सरकारले चाँडो संविधान संशोधनको प्रस्ताव दर्ता गरोस् भन्ने गठबन्धनको चाहना भएको बताउँदै आगामी रणनीतिका बारेमा अर्को बैठकले निर्णय गर्ने सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष तथा सङ्घीय गठबन्धनका सचिवालय संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Bhansar Bivag
Argakhachi Cement