काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम तयारी भइरहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको नेकपा (माओवादी केन्द्र)को पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष दाहालले सकेसम्म आजै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो – “संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्यता बढाउनेतर्फ सरकार लागिपरेको छ ।’’
बैठकमा उहाँले संविधान संशोधनबारे दलबीच हालसम्म भएको प्रयास र छलफलका बारेमा समेत पोलिटब्युरो सदस्यलाई जानकारी गराउनुभएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले मुलुकलाई लामो समयसम्म अड्काएर राख्न नसकिने भन्दै छिट्टै निकास दिने बताउनुभएको थियो । बैठकका निर्णयबारे जानकारी दिँदै नेता सापकोटाले भन्नुभयो – “आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले संविधान संशोधनकै विषयमा भएका प्रगतिबारे जानकारी गराउनुभयो । सोमबार राष्ट्रपतिसँगको छलफलले सकारात्मक वातावरण बनेको छ । बैठकले संविधान संशोधनबारे राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ ।”
मुलुकलाई अप्ठ्यारोमा पार्ने र संविधान कार्यान्वयन हुन नदिने प्रवृत्तिका विरुद्ध पार्टीले एक मतले प्रतिवाद गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सरकारमा रहेका सहयात्री दलसँग पनि औपचारिक तथा अनौपचारिक छलफल भएको जानकारी गराउनुभएको थियो ।
बैठकमा धारणा राख्ने पोलिटब्युरो सदस्यले पार्टी सङ्गठन सुदृढीकरणमा ध्यान दिनुपर्ने, जनस्तरसम्म पार्टीलाई विस्तार गर्नुपर्ने र त्यसका लागि तीनमहिने कार्ययोजना बनाउनुपर्ने बताउनुभएको थियो । बैठकमा अध्यक्ष दाहालले पेस गर्नुभएको संविधान संशोधन, तीनमहिने पार्टी कार्ययोजनालगायत विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठक बुधबार पुनः बस्नेछ । रा