रुकुम, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधन विधेयक अब अगाडि बढ्ने बताउनुभएको छ ।
आज रुकुमको मुसिकोटमा प्रथम मध्यपश्चिम रुकुम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानसभाबाट घोषणा भएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी सबैको काँधमा रहेकाले संशोधन विधेयक अगाडि बढाउन एमालेलगायतका दलहरु सहमति भएको स्पष्ट पार्नुभयो ।
उहाँले संविधान संशोधनका लागि सत्ता पक्ष र प्रतिपक्षसँग आज सहमति भएकाले अब संशोधन विधेयक अगाडि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारको अहिलेको मुख्य जिम्मेवारी भनेको सबै राजनीतिक दलबीच सहमति गराएर देशमा राष्ट्रिय एकता कायम गरी समयमा नै तीन तहको निर्वाचन गराउने रहेको उल्लेख गर्नुभयो ।
संविधानले तोकेको समय सिमाभित्र तीन तहको निर्वाचन गराउन नसके देश गम्भीर दुर्घटनामा फस्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “सरकार अहिले तराई मधेसदेखि पहाड हिमाल हुँदै पूर्वदेखि पश्चिमसम्मलाई एकताबद्ध गराएर देशलाई निर्वाचनतिर लैजाने क्रममा छ ।”
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरीसकेकाले सबै पक्षलाई निवार्चनमा केन्द्रीत हुन उहाँले आग्रह गर्नुभयो ।