लहान, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गरेर छिट्टै निर्वाचनमा जानु सरकारको मुख्य दायित्व भएको बताउनुभएको छ ।
सिरहाको लहानमा आजदेखि सुरु भएको श्रीमद्भागवत महापुराण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नभएकाले संविधान संशोधन प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिने बताउनुभयो ।
शान्ति, सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि संविधान कार्यान्वयन जरुरी भएको बताउँदै प्रधाननन्त्री दाहालले संविधान संशोधन गरेर चुनाव गराउन नसकिए अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा रहेकाले यसमा सबै जनताको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
पछिल्ला दिनमा मधेस छुट्टयाउने र मधेसीलाई विदेशी जस्तो देख्दै एउटै खास वर्ग र समुदायको पक्ष लिने अन्ध–राष्ट्रवादका कारण मुलुक गम्भीर सङ्कटमा फसेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दुवै राष्ट्रवाद नभएकाले मधेसी जनता र पहाडी जनता दुवैलाई एकठाउँमा राखेर मध्यमार्ग रोज्नुमा नै सवैको भलो हुने बताउनुभयो ।
मधेसले नै आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग कोट्याउँदै नेकपा ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले मधेसीको अधिकारप्रति जहिलेपनि आफू सजग रहेको बताउनुभयो ।
गरिब विपन्न र दलित समुदायका छात्राबास र वृद्धाश्रमका लागि आयोजना गरिएको महायज्ञमा सरकारको पनि साथ र सहयोग रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा कानुन मन्त्री अजय शंकर नायकले सरकार निर्वाचन गराउन आतुर रहेपनि राजनीतिक सहमति नभएकाले निर्वाचनको मिति घोषणा गर्न नसकिएको बताउनुभयो ।
सो अवसरमा सांसदहरु प्रदीप गिरि, पद्मनारायण चौधरी, रामचन्द्र यादव, डा गणेश मण्डलले आ–आफ्ना धारणा राख्नुभएको थियो । महायज्ञ फाल्गुन १४ गतेसम्म चल्नेछ ।
पण्डित दीनबन्धु पोखरेल वाचक रहनुभएको महायज्ञ कार्यक्रमको अध्यक्षता पवन मुन्धडाले गर्नु भएको थियो । यसअघि भएको कलश यात्रामा दुईसय महिला सहभागी थिए ।