पोखरा, १९ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तराई र पहाडलाई छुट्याउने षडयन्त्रका साथ आएको संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा सफल हुन नदिने बताउनुभएको छ ।
एमाले कास्कीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टीको मुखपत्र ‘घोषणा’ को आज यहाँ लोकार्पण गर्दै उहाँले राष्ट्र र जनताको भावना विपरीत पहाड र तराईको युगौँदेखिको एकतालाई खण्डित गर्ने गरी संशोधन प्रस्ताव आएकाले त्यसविरुद्धमा एमाले उभिएको बताउनुभयो ।
मुलुकको ५ नं प्रदेशलाई छुट्याउने षडयन्त्रको विरुद्धमा सिङ्गो पार्टी देशव्यापीरुपमा सशक्त तवरबाट अघि बढेको बताउँदै उहाँले देशलाई विखण्डन गर्ने गरी आएको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको समर्थन नरहेको स्पष्ट गर्नुभयो ।
मुलुकका विभिन्न कालखण्डमा भएका महत्वपूर्ण उपलब्धि दलहरुको एकताबद्ध प्रयासबाट सफल भएको बताउँदै नेता खनालले राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि राष्ट्रवादी शक्ति एक बन्नुको विकल्प नरहेको बताउनुभयो ।
संविधानको सफल कार्यान्वयनका लागि तीन तहका निर्वाचन सम्पन्न गर्दै अघि बढ्नु अपरिहार्य भएको बताउँदै उहाँले संविधानको कार्यान्वयन अहिलेको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो । नयाँ संविधान लोकतान्त्रिक, देशभक्ति, प्रगतिशील र समाजवाद उन्मुख रहेको बताउँदै नेता खनालले यसले सबै स्थान र क्षेत्रमा बस्ने जातजाति भाषाभाषीका अधिकारलाई सुनिश्चित गरेकाले संशोधनको आवश्यकता नरहेको जिकीर गर्नुभयो ।