पुस १३, नेपाल परिवार दलका सांसद एकनाथ ढकालले संशोधन विधेयक गैरसंवैधानिक, राष्ट्रियता विपरीत अदृश्य शक्तिको बलमा ल्याइएको आरोप लगाउँदै फिर्ता नलिइञ्जेलसम्म सदन चल्न नदिने बताए । बुधबार संसदमा बोल्दै सांसद ढकालले चुनावको मिति घोषणामा भइरहेको ढिलाइप्रति पनि असन्तुष्टि पोखेका थिए । उनले भनाइ राखिसकेपछि एमालेसहितका विपक्षमा रहेका दलका सांसदहरु आआफ्नो ठाउँमा उभिए । योसँगै संसदको बुधबारको बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध पारेका छन् ।
संविधान संशोधन विधेयक फिर्ता वा स्थगनको माग गर्दै एमालेसहितका प्रतिपक्षमा रहेका दलहरुले सदन चल्न नदिएका हुन् । सभामुख ओनसरी घर्तीमगरले पटक पटक आसन ग्रहणका लागि आग्रह गरिन् । उनले दलहरुबीच सहमतिको लागि आफूले समय दिएको स्मरण गरिन् । संशोधन विधेयकको कार्यसूचि अगाडि बढाउन अनुरोध गर्दै सभामुख घर्तीले विधेयक पारित वा अस्वीकार गर्ने अधिकार भएको पनि बताइन् । तर, पनि विपक्षी दलका सांसदहरुले आफ्नो आग्रह नमाने पछि सभामुख घर्तीले भोलि बिहीबार १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरिन् ।