सङ्घीयतालाई साम्प्रादायिकतामा बदल्ने कोसिस भइरहेको छः प्रधानमन्त्री दाहाल

प्रकासित मिति: ११ पुष २०७३, सोमबार १४:२८

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयतालाई साम्प्रादायिकतामा बदल्ने कोसिस भइरहेको बताउनुभएको छ ।

एकसय चौबिसौँ माओ जयन्तीका अवसरमा माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो “सङ्घीयतालाई विकृत बनाउने तत्वसँग होसियार हुनुपर्दछ ।”
प्रधानमन्त्री प्रचण्डले “जनआन्दोलन चलिरहँदा मुलुकमा गणतन्त्र आउनै नसक्ने दाबी गर्नेहरु अहिले सबै आफैँले गरेको भने जसरी प्रस्तुत हुन थालेका छन्” भन्दै “विगतमा गणतन्त्र आउनै नसक्ने दाबी गर्ने र अहिले संविधान कार्यान्वयन हुन नदिने तत्व एउटै भएको बताउनुभयो ।”

“एकथरी मान्छे सङ्घीयता उल्टाउन उद्यत छन्, उहाँले भन्नुभयो– “सङ्घीयता बाध्यतामा स्वीकार गरेको भन्ने पनि देखिएका छन्, त्यो प्रवृत्तिसँग सबै सावधान हुनु जारुरी छ ।”

प्रधानमन्त्री दाहालले कम्युनिस्टले जनतामा लोकप्रियता हासिल गरेपछि बुर्जुवाहरु कम्युनिस्टका नारा अपहरण गरेर त्यसलाई भड्कावमा लैजाने षडयन्त्र गरिरहेको बताउँदै संविधान कार्यान्वयन हुन नदिने र अराजकता निम्त्याउन खोज्नेलाई जनताले नै उचित जवाफ दिइने छ भन्नुभयो ।

“कम्युनिष्टको नेतृत्वमा जातीय समस्याको उचित सम्बोधन हुन्छ र यसले राष्ट्रिय एकता मजबुत हुन्छ तर त्यही एजेण्डा बुर्जुवाको हातमा पुग्यो भने त्यसले साम्प्रादायिकता निम्त्याउँछ र विखण्डनको बिउ रोप्दछ” भन्दै उहाँले “हामीकहाँ पनि जातीय समस्यालाई राष्ट्रिय एकतामा बदल्न छोडेर कुनै अमूक जाति वा समुदाय च्यापेर अरुलाई पर धकेल्ने प्रयास भइरहेको छ, यो बुर्जुवा सोचकै परिणाम हो बताउनुभयो ।”

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले फरक प्रसङ्गमा आजको सन्दर्भमा निरन्तर क्रान्ति र सङ्घर्ष नै माओवादको मुख्य सन्देश भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजको युग पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो, सर्वहारा वर्गको अन्तिम विजय नभएसम्म निरन्तर क्रान्ति र निरन्तर सङ्घर्षको औँचित्य कायमै रहन्छ । आजको सन्दर्भमा माओवादको सन्देश भनेको निरन्तर क्रान्ति र निरन्तर सङ्घर्ष हो अध्यक्ष दाहालले भन्नुभयो ।”

जनयुद्धकै बलमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले आजको सन्दर्भमा माओवादको पक्षमा उभिनु भनेको संविधानमा संस्थागत भएका उपलब्धिको कार्यान्वयन गर्नु भएको बताउनुभयो ।

माओवादी केन्द्रका नेता हितमान शाक्यले २१औँ शताब्दीमा माओवादीको औचित्य अझै बढ्दै गएको बताउनुभयो । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ त्से तुङको योगदानबारे चर्चा गरिएको थियो

Bhansar Bivag
Argakhachi Cement