काठमाडौँ, १४ पुस । सभामुख ओनसरी घर्तीले आगामी तीन दीनभित्र राष्ट्रिय एजेण्डामा सहमति जुटाएर व्यवस्थापिका–संसद्को अवरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको छ ।
रिपोर्टर्स क्लबले आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो, “लामो समयसम्म सदनको कारबाही अवरुद्ध हुँदा जनताको भावना प्रतिबिम्बित हुन पाएको छैन ।”
सभामुख घर्तीले जनताको भावना केन्द्रित हुने सदनको कारबाही निरन्तर अवरुद्ध गरिनु जायज नभएको बताउँदै तत्काल सदन खुल्ने वातावरण बनाउन र त्यसका लागि जिम्मेवार हुनसमेत सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो ।
“सदनको कारबाही अवरुद्ध हुँदा संविधान कार्यान्वयन र स्थानीय निकाय निर्वाचनसम्बन्धी ऐननियम बनाउने प्रक्रिया रोकिएको छ, यसले आगामी २०७४ माघ ६ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यसूचीसमेत प्रभावित भएको छ, त्यसकारण तत्काल सदन खुल्नुपर्छ उहाँले भन्नुभयो ।”
सभामुख घर्तीले सदनमा प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिको बैठकसम्म (पुस १८ गते) आफू पर्खने र सहमति नभए प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको जानकारी दिनुभयो ।
लामो समयसम्म सदनको कारबाही रोकेर राख्ने भन्ने हुँदैन, प्रमुख दलले तत्काल सहमति गरुन्, होइन भने जनताको माग बमोजिम मैले सदनको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ”– उहाँले भन्नुभयो, “पुस १८ गतेपछि मैले नियमित बैठक राख्ने र सदनबाटै समस्याको समाधान खोज्ने प्रयास गर्नेछु ।”
सभामुख घर्तीले लोकतन्त्रको सर्वमान्य सिद्धान्तअनुसार बहुमतको निर्णय स्वीकार गर्न आग्रह गर्दै सदनको कारबाही अवरुद्ध गर्ने पक्रिया विधिसम्मत नभएको बताउनुभयो ।
प्रमुख दलले एकैठाउँमा उभिएर सहमतिमा नै मुलुकका सामु रहेका ठूलैठूला समस्या समाधान गरिएको चर्चा गर्दै उहाँले सहमति र सहकार्यको विकल्प नभएको बताउनुभयो ।
सभामुख घर्तीले स्थानीय निकायको निर्वाचन गराउन प्रमुख तीन दल सहमत भएको भन्ने विषय सकारात्मक रहेको भन्दै अन्य विषयमा समेत सहमति खोज्न ध्यानाकर्षण गराउनुभयो ।