तनहुँ, ६ असार । अपाङ्ग भएर पनि सबलाङ्ग मानिसले जस्तै काम गर्न सकिन्छ भन्ने गतिलो सन्देश दाङ जिल्ला शान्तिनगर गाउँपालिका–५ निवासी ४२ वर्षीय चेतबहादुर केसीले दिएका छन् ।
जन्मजातै अपाङ्गता भएका केसीको दुवै खुट्टाले हिँडडुल गर्न नसके पनि उनले सबलाङ्गले जस्तै राम्रो गीत र नृत्य प्रस्तुत गरेर सोमबार दमौलीमा सकारात्मक सन्देश दिएका हुन् ।
कोही जन्मजातै, कोही पछि, कोही खानपान र कोही सवारी दुर्घटना, हिँडडुलबाट अपाङ्ग हुने हँुदा अपाङ्गता सम्बन्धि सचेतनामूलक सन्देश दिन तनहुँ जिल्लासहित ७२ जिल्लामा यस्ता कार्यक्रम गर्दै आएको राष्ट्रिय अपाङ्ग सांस्कृतिक प्रतिष्ठानका संयोजक आकाश विराही कान्छाले बताउनुभयो ।
विसं २०६९ देखि यस किसिमको अभियान थालेकोेमा हालसम्म ७२ वटा जिल्लामा गीत र नृत्यबाट अपाङ्ग हुनबाट जोगिन र अपाङ्ग भइसकेपछि घृणा होइन माया र ममता दिनुपर्छ भन्ने सन्देश दिएका छन् । साथै, अपाङ्गताको आधारमा अवसर दिनुपर्छ भन्ने पनि उक्त नृत्यले सन्देश दिन खोजेको देखिन्छ ।
आफूले अपाङ्गसम्बन्धि सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै विकृति र विसङ्गतिको विरुद्धमा गीतमार्फत आवाज बुलन्द पार्दै समग्र अपाङ्गता भएका एक हुनुपर्छ भन्ने सन्देश पनि दिने गरेको अपाङ्ग केसीले जानकारी दिनुभयो ।
तर सरकारबाट कुनै पनि सहयोग नपाएको उहाँको गुनासो रहेको छ । एक छोरा र एक छोरीका बाबु केसीले ‘उठ उठ ब्यूँझ अपाङ्ग दाजुभाइ, भाले बास्यो उज्यालो बिहानी भई’ नामको एल्बममा आफ्नो नृत्य रहेको सो अवसरमा जानकारी दिनुभएको थियो ।