सरिताको साहित्य : समालोचना

प्रकासित मिति: ८ पुष २०७५, आईतवार १२:०८

छाँया आचार्य ( नेपाल)

अन्तराष्ट्रिय समालोचक र समालोचनामा नेपालमा पनि अग्रणी भूमिका खेलिरहनु भएका सरिता ढकालको साहित्य ः समालोचना सन्दर्भ नामक नयाँ पुस्तक बजारमा आएको छ । आफ्नो समालोचनाले सामाजिक जीवनसँग ब्यापक परिचय लिएर नेपाली साहित्यलाई मार्ग प्रदर्शन गरेको दावी गर्दै उहाँले यो समालोचना प्रकासन गर्नु भएको हो । यस्ता समालोचनाको लेखन बिना कुनै पनि साहित्यको समुचित बिकास हुन नसक्ने ढकालले पुस्तकमा लेख्नु भएको छ । पुस्तकको पहिलो भागमा सरिता ढकालद्वारा लिखित प्रगतिशील दृष्टिमा केही समालोचनाहरु राखिएको छ भने दोस्रो भागमा नेपाली साहित्य ः समालोचनाको समस्या नामक अर्को पुस्तकलाई समावेश गरिएको छ । तेस्रो भागमा सरिता ढकालद्वारा लिखित विभिन्न पत्रपत्रिकामा प्रकाशित समालोचनाहरु मध्ये केहीलाई संकलन गरिएको छ । नयाँ दृष्टिकोणमा मुना मदनको लेखाजोखा यस भित्रको उत्कृष्ट समालोचनाको रुपमा रहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको वियोगान्त कृतिलाई स्वभाविकताभित्रको सशक्त उपजको रुपमा उहाँले समालोचना गर्नु भएको छ । मुनाले मदनलाई ल्हासा जाने बेलामा भनेको हरफ आज बैदेशिक रोजगारमा जाने युवालाई उसको श्रीमती र प्रेमिकाले भनेको जस्तो लाग्दछ । हातको मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु आएको बेस आनन्दी मनले, यस्तै त भनिरहेका छन् पैसा कमाउनकै लागि बिदेशिनेहरुलाई । साथै मुना मदनले राष्ट्रिय चिन्तनको मार्ग प्रादुर्भाव गरेको ढकालले पुस्तकमा उल्लेख गर्नु भएको छ । उहाँले नेपाली साहित्यका कमि र कमजोरीलाई राम्रोसँग उल्लेख गर्नु भएको छ । उहाँले उपन्यास लेख्ने नाउँमा नेपाली साहित्यमा भित्रिएका दुर्बलताको बारेमा राम्रोसँग ब्याख्या गर्नु भएको छ । नेपाली साहित्यमा हाल आएर उपन्यास लेख्ने सिंलसिलामा आफ्नो जीवन, सामाजिक विकास, परिवेश, पृष्ठभूमि तथा सन्दर्भबाट बेमुख रहने प्रवित्ति समय समयमा देखापर्ने उहाँले लेख्नु भएको छ । सामाजिक परिवेश, सन्दर्भको अध्ययनको अभावमै स्वप्न जगतमा धार्मिक शास्त्रार्थ गर्ने पात्रहरुको विवरणको फेरिस्ता तयार गरेर उपन्यासको नाममा कृति पेश गर्ने श्रेय लिएको भनेर कृष्ण धारावासीले लेखेको राधा नामक उपन्यासलाई उदाहरणको रुपम प्रस्तुत गर्नु भएको छ ।
नेपाली साहित्य जगतमा सरिता ढकालले विशिष्ट र मौलिक समालोचकको रुपमा आफ्नो पहिचान बनाउनु भएको छ । नेपाली साहित्यको समालोचनाको फाँटमा धारमा समालोचना लेख्ने र धारलाई सशक्तरुपमा कायम राख्दै विकसित गर्ने समालोचकको रुपमा ढकाल सुरिचित हुनुहुन्छ । उहाँलाई नेपाली साहित्यको प्रथम नारी समालोचक भन्दा फरक पर्दैन । पृष्ट १३० मा सरिताले यस्तो लेख्नु भएको छ ः आजको माक्र्सवाद भन्छ, आजको नेपाली साहित्यक युग कर्म क्षेत्रको युगमा छ । भन्नको तात्पर्य आज नेपाल जस्तो पछाडिएको र थिचिएको मुलुक पनि चौतर्फि राष्ट्र निर्माणको कुरा गर्न लागेको छ । सामन्ती अंधकार तथा वैदेशिक दबाबमा रहेको हाम्रो देश पनि दिन प्रति दिन राष्ट्रिय स्वतन्त्रता र राष्ट्र निर्माणको कुरा गर्न लागेको छ । फलस्वरुप आजको नेपाली जीवन यस अनुरुपको सबै तिर नवीन तै नवीनता चाहन्छ । नयाँ प्रेम, नयाँ अर्थतन्त्र, नयाँ शिक्षा, नयाँ जागृति सबै तिर नवीनतै नवीनता । यसरी सरिताको साहित्य ः समालोचना सन्दर्भ नामक पुस्तक पढौं पढौं लाग्ने अत्यन्त ज्ञानबर्धक कृतीको रुपमा प्रकासनमा आएको छ ।
जब सम्म मानव चिन्तनको स्वजातीय स्वरुपको प्रतिनिधित्व कुनै राष्ट्रको साहित्यले गर्दैन तबसम्म त्यस देशको साहित्य सवल र सुगठीत हुँदैन । त्यसैले हामीलाई नेपाली माटोमा उम्रिएका हाम्रो स्वजातीय स्वरुपलाई प्रतिनिधित्व गर्ने पात्र पात्रीको खाँचो छ उहाँले पुस्तकमा लेख्नु भएको छ ।
यस बाहेक सरिता ढकालका धेरै समालोचना तथा कविताहरु प्रकासनमा आएका छन् । प्रगतिशील दृष्टिमा केही समालोचनाहरु, नेपालको राजनैतिक अध्ययन, मेरा कथाहरु, नेपाली साहित्यः समालोचनाको समस्या, नेपाली राजनीति परिवर्तनको बाटोमा र कविता बोल्छन् जस्ता प्रकासनहरु उहाँका महत्वपूर्ण प्रकासनहरु हुन् ।

Bhansar Bivag
Argakhachi Cement