राजेन्द्र तारकिणी
काठमाडौँ । कुनै समय निकै लोकप्रिय रहेको साझा यातायात वर्षौंपछि फेरि जनतालाई सेवा दिन सक्षम भएको छ । पछिल्लो समय काठमाडौंका सडकमा नितान्त नयाँ साखसहित नियमित रुटमा चल्ने साझा यातायातका ठूला बसले विकसित देशमाझैँ झल्को दिने गरेको अनुभव यात्रुहरूले नै बताउने गरेका छन् । सधैँको धुवाँ, धुलो, हर्नको कोलाहल र जामका कारण काठमाडौंको सार्वजनिक यातायात निकै तनावपूर्ण भएको छ । यसैबीच साझा यातायातले नितान्त नयाँ र फरक शैलीमा जनताको सेवालाई सर्वोपरि ठान्दै थप ३० वटा ठूला नयाँ बस सञ्चालन गरेपछि सर्वसाधारणमा नयाँ आशा पलाएको छ ।
आइतबार पुल्चोकस्थित साझा यातायातको प्राङ्गणमा एक उल्लासमय कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा यातायातद्वारा दशैँको खेपमा भित्र्याएका ३० वटा नयाँ बसको औपचारिक उद्घाटन गरे । उक्त कार्यक्रममा ‘मह’जोडीको भावनात्मक व्यंग्य तर सन्देशमूलक प्रस्तुतिले उपस्थित प्रधानमन्त्रीसहित मन्त्री तथा नेतागणलाई निकै गम्भीर पनि बनायो । कलाकार मदनकृष्ण श्रेष्ठले दश पैसाबाट सुरु गरेर रु दुई हुँदै रु १५ सम्म भाडा रहेको साझाको अनवरत यात्राको कहानी कोट्याउँदा कलाकार आचार्यले अब, यसभन्दा बढी भाडा नबढोस्, साझालाई सुरक्षित, भरपर्दो र समयमै गन्तव्यमा पुग्ने बनाइयोस् भनी कामना गरेका थिए ।
त्यस्तै, निकै व्यंग्यात्मक शैलीमा कलाकार हरिवंश आचार्यले पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रोबसबाट लडेको उदाहरण दिँदै अब नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरु पनि त्यसरी नै लड्नुपर्छ भनेपछि सभा कक्ष हाँसोले निकै गुञ्जायमान बनेको थियो । आचार्यले त्यति मात्र हैन, अब देश खलासीले चलाउनुपर्छ भनेपछि सबैको ध्यान खिच्यो । खलासीले जसरी बसमा सबै जातजाति, समुदायलाई मिलाएर व्यवस्थापन गर्छ, नेताहरूले पनि त्यसैगरी सहमतिबाट देशलाई अघि बढाउनुपर्छ भन्ने उनको सन्देशले प्रधानमन्त्री प्रचण्डलाई भावुक बनायो । उनले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा देशभित्र यातायात व्यवस्थाको अराजकतालाई ध्यानमा राख्दै सुधारका नीति र योजनालाई कार्यान्वयनमा ल्याउन तथा ट्राफिक व्यवस्थापनमा लागिपरेको सन्दर्भमा साझाको काम सराहनीय रहेको बताए । उनले हरिवंशको व्यंग्यको जवाफ दिँदै आफू देशको खलासी नै रहेको बताए ।
काठमाडौंको सडक यातायातलाई व्यवस्थित र भरपर्दो बनाउन चौडा सडक र ठूला बस अपरिहार्य रहेको प्रधानमन्त्री प्रचण्डले पनि स्वीकारे । सहरी व्यवस्थापन र यातायात व्यवस्थालाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई ऐन मार्फत व्यवस्थित गरी उपत्यकाका तीनवटै जिल्लाका सहरलाई एकीकृत र गोलबद्ध बनाएर लैजाने गृहकार्यमा सरकार लागिपरेको जानकारी पनि उनले दिए ।
साझा यातायातले सुलभ भाडादरमा नियमित रुटिन र रुटमा दिँदै आएको यातायात सेवा निश्चय नै सबैका लागि खुसीको विषय बनेको छ । काठमाडौंमा माइक्रो र अन्य वर्षौँ पुराना थोत्रा बसको अनियन्त्रित भीडले यहाँको सडकलाई अस्तव्यस्त मात्र बनाएका छैनन्, यात्रुलाई सास्ती पनि दिइरहेका छन् । नियमित रुटिन र रुटमा नचल्ने, मनपरी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु चढाउने र अनियन्त्रित गतिमा हुइँकाउने प्रवृत्तिले यात्रुलाई शास्ती भइरहेको अवस्थामा साझा जस्ता व्यवस्थित र ठूला बसको महत्व अझ बढेर गएको छ । कार्यक्रमका सहभागी सबैले सायद यो कुरा महसुस गरेको हुनुपर्छ ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँको यातायात व्यवस्थापन गर्न कामपाले साझासँग सहकार्य गरी नयाँ बस सेवा सुरु गरेको जनाए । साथै महानगरपालिकाले साझा यातायातको थप ५ करोड रुपैयाँको सेयर किन्ने पनि उनले बताए । यसअघि साझा यातायातमा महानगरले १० करोड रुपैयाँ बराबरको सेयर लिएर ३० वटा बस किन्न सघाएको थियो, जसको सञ्चालन आइतबारबाट भइसकेको छ । साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले ‘चौडा सडकमा ठूलो बस’ अवधारणाअनुरुप साझाले आफ्नो सेवा विस्तार गरेको बताउँदै सहरी यातायात व्यवस्थापनका लागि नयाँ नीति चाहिने औँल्याए ।
हाल साझाका नयाँ बससहित काठमाडौं उपत्याकामा कुल ३८ बस सञ्चालनमा छन् । साथै निकट भविष्यमै साझाले अरु अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरका ठूला बस थप गरिने पनि बताउँदै आएको छ । साझाको यो नाफामुखीभन्दा पनि सेवामुखी कदमबाट अन्य यातायात व्यवसायीले पनि सिक्नुपर्ने देखिन्छ । साथै सरकारले यातायात व्यवस्थापनमा हस्तक्षेप गरी सुधार गर्न सके यातायात प्रणाली भरपर्दो बन्न सक्छ । साझाले फेरि पुरानै नियति भोग्न नपरोस् भन्नका लागि संस्था स्वतन्त्र र प्रभावकारी हुनु पनि उत्तिकै आवश्यक देखिन्छ, जहाँ राजनीतिक हस्तक्षेपबाट पनि संस्था मुक्त रहनु आवश्यक छ ।