काठमाडौं । सात देशका युवाहरू मिलेर काभ्रेस्थित पूर्ण सन्जीवनी मा.वि. धुलिखेलमा सेवामूलक कार्यक्रम सहभागी भएका छन् । रिलिजियस फर युथ सर्भिस (च्थ्क्) नामक संस्थाले यो अवसर जुराइदिएको हो । लामो समयदेखि सेवामूलक कार्य गर्दै आएको आरवाइएस संस्थाले यही असार २७ देखि ३१ गतेसम्म बङ्गलादेश, पाकिस्तान, मलेशिया, रसिया, ताइवान, नेपाललगायत देशका ४० जना युवाहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।
सो सेवामूलक कार्यक्रमलाई सफल बनाउन धुलिखेल नगरपालिकाले सहयोग गरेको थियो । साथै कार्यक्रमलाई रोटरी क्लब लगायतका संस्थाले पनि स्थानीयस्तरमा सहयोग गरेको आरवाइएस नेपालका संयोजक पियारत्न महर्जनले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले विद्यालय भवनमा पेन्टिङ गरेर सहयोग गरेका थिए । यसका साथै शिक्षक तथा विद्यार्थीहरूलाई आ–आफनो देशको भाषा र संस्कृतिका बारेमा जानकारी दिनुका साथै विद्यालय हाताको सरसफाइ समेत गरेका थिए ।
पाँच दिनसम्म चलेको सेवामूलक कार्यक्रमको समापन भने राजधानीमा गरियो । शनिबार पीस एम्बेसी बिल्डिङ, नक्सालमा एक कार्यक्रमको आयोजना गरी पाँचदिने सेवामूलक कार्य समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै द्वन्द्व विशेषज्ञ एवम् युनिर्भसल टाईम्स्का सम्पादक डा. चूडा बहादुर श्रेष्ठले भूकम्पबाट पीडित नेपालीहरूलाई यस्ता सेवामूलक कार्यक्रममार्फत् मलम लगाउन सफल भएकोमा सहभागी स्वयंसेवी युवाहरूको प्रंशसा गरे । उनले सेवामार्फत नै समाजलाई रुपान्तरण गर्न सकिनेमा जोड दिए ।
‘अहिलेका अधिकांश युवा लागुऔषध दुव्र्यसनी र आतकंकारी गतिविधिमा संलग्न भइरहेका छन्,’ डा. श्रेष्ठले भने, ‘यस्तो अवस्थामा यी विभिन्न देशका चरित्रवान् युवाहरू मिलेर जुन सामाजिक अभियानमा सहभागी भएका छन्, यो हरेक युवाहरूका लागि पेरणादायी छ । सामाजिक रूपान्तरणमा युवाहरुको नै उल्लेख्य भूमिका रहने हुँदा यसप्रकार नैतिक, चारित्रिक एवं सेवामूलक अभियान विश्वव्यापी बनाउनु आजको आवश्यकता हो ।’
विश्व शान्ति तथा एकिकृत परिवार संघ, नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले यस्ता सेवामूलक कार्यले समाजमा शान्ति र स्थायित्वका साथै विकास कार्यमा मद्दत पुग्ने बताए ।
कार्यक्रममा बङ्गलादेशका अबुल कलम आजाद, पाकिस्तानका उमे, नेपालका अजित भट्ट लगायतले पाँच दिनसम्म विभिन्न देशका युवाहरूसँग मिलेर काम गर्दाको अनुभव सुनाएका थिए । समूहमा इन्टरएक्सन गर्दै सेवामूलक काममा सरिक हुन पाउँदा आफूलाई खुसी लागेको उनीहरूले बताए ।
समारोहमा सहभागी सबैलाई द युनिर्भसल टाईम्सका सम्पादक डा. चूडाबहादुर श्रेष्ठले सहभागिताको प्रमाणपत्र वितरण गरेर विदाइ गरेका थिए ।