तत्काल घरवहाल नीति ल्याउन साना व्यवसायीको माग
काठमाडौं । ठूला व्यवसायीहरु व्यवसाय गर्न सुरक्षित भए पनि साना तथा मझौला व्यवसायीहरु संकटमा पर्दै आएको गुनासो बढ्न थालेको छ ।
साना तथा मझौला व्यवसायीहरुले भन्सार नाकाहरुमा आयात–निर्यात प्रक्रिया झन्झटिलो भएको र विचौलियाहरुको कारण सहजरुपमा व्यवसायी सञ्चालन गर्न नसकेको बताएका छन् ।
साना व्यवसायीहरुको सुरक्षा प्रवन्ध मिलाउन र सहजरुपमा व्यवसाय गर्ने वातावरण नमिलाए साना व्यवसायीहरु डुब्ने अवस्थामा रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवाल बताउँछन् ।
घरधनीले घरबहाल सम्झौता नगरेको, जथाभावी भाडा बढाएको, सम्मानपूर्वक व्यवहार नगरेको, चाडबाडका नाममा अनुगमन गरेको भन्दै प्रशासनद्धारा आतंक मच्चाइएको महासंघको आरोप छ ।
महासंघले ढुवानीमा गरिएको सिण्डिकेट अन्त्य हुनुपर्ने, तत्काल घरवहाल नीति ल्याइनुपर्ने, व्यवसायी र राज्यबीच समन्वयकारी व्यवहार हुनुपर्ने, धुँवाधुलो र फोहोरमुक्त वातावरण कायम गर्नुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, लगानीमैत्री वातावरण बनाइनुपर्ने, व्यवसायीलाई सरल रुपमा ऋण प्रवाह गरिनुपर्ने लगायतका माग पनि अघि सारेको छ ।
कट्वालले साना व्यवसायीले सरकारले आफ्ना गुनासा नसुनेको आरोप लगाए । ‘सरकारले बनाएको नीति, नियमअनुसार आफूहरु चले पनि सरकारबाट पाउनुपर्ने सुविधा पाएको छैनौं’ उनले भने, ‘व्यवसायिक सुरक्षा नहुँदा साना व्यवसायीहरु पलायन हुने अवस्था आएको छ, यसलाई रोक्नु सरकारको दायीत्व हो ।’
‘सरकारले व्यवसायीलाई राहत दिने खालका कार्यक्रम ल्याउनुपर्नेमा सरकार व्यवसायीको भावनाविपरीत गएको छ’ उनले भने, ‘हामी व्यवसायी अत्यन्तै दुःखमा छौं, हरेक ठाउँमा ज्यानको जोखिम छ, सरकारबाट पाउने सुविधा पाइएको छैन ।’
‘कर्मचारीको पेन्सन हुन्छ तर दिनरात दुःख गरेर सरकारलाई कर तिर्ने हामी व्यवसायी भने सधैं अन्यौलमा छौं, कमसेकम पनि सरकारबाट सम्मान हुनुपर्ने हो, त्यो पाइएन’ उनी भन्छन्, ‘साना व्यवसायलाई टिकाउन सकियो भने मात्र नेपाली युवाहरु पलायन हुनबाट रोक्न सकिन्छ, त्यसका लागि सरकारले नै पहल गर्नुपर्छ ।’
यसरी बन्यो महासंघ
अहिले व्यवसायीहरुको सुरक्षा र व्यापार व्यवसाय प्रवद्र्धन गर्न नेपाल उद्योग बाणिज्य महासंघ क्रियाशील छ । तर, त्यसले साना व्यवसायलाई समेट्न नसकेपछि साना व्यवसायीहरुले महासंघ बनाएका छन् ।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, खिचापोखरी न्यूरोड व्यापार संघ, नेपाल व्याग उद्योग संघ, फेन्सी व्यवसायी संघ नेपाल, रन्जना व्यापार संघ, वौद्ध व्यापार संघ, विशाल बजार व्यापार संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, भक्तपुर रेडिमेट व्यापार संघ लगायतका १८ वटा संस्था मिलेर केही समय अघि मात्रै नेपाल राष्ट्रिय व्यवसायी महासंघ गठन भएको छ ।
उपत्यकाका विभिन्न ठाउँमा व्यापार व्यवसाय गरेर बसेकाहरुको प्रायः जसो एउटै समस्या भएकाले पनि सरकार र सरोकारवाला निकायलाई दवाब दिन र व्यवसायिक हकहित र संरक्षणका लागि महासंघको स्थापना गरिएको कटवाल बताउँछन् ।
यो महासंघले साना व्यवसायीको सुरक्षा, व्यवसायीक प्रवद्र्धन र नेपालको औद्योगिक विकासमा ट्वा पु¥याउन विभिन्न माग अघि सारेको छ । महासंघ बनेपछि प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, वाणिज्य मन्त्री र आपूर्तिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी भइरको महासंघको भनाई छ ।