काठमाडौं ः लामो समयदेखि समाजसेवामा सक्रिय बर्मामा जन्मेर थाईल्यान्डमा काम गर्दै आएका नेपाली मुंलका सामाजिक अभियन्ता सानछाई श्रेत्री (कुमार कार्की) सम्मानित भएका छन् ।
आइतबार युनिर्भसल पीस फेडेरेशन नेपालले उनलाई सम्मान गरेको हो । थाई नेपाल संघका अध्यक्ष एनआरएन थाईल्यान्डका सल्लाहकार कार्कीलाई उनले आफ्नो सामाजिक काममार्फत विश्वमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान गरेको भन्दै ‘शान्तिदूत’ सम्मान प्रदान गरिएको हो । उनलाई पूर्वमन्त्री एवं युनिभर्सल पीस फेडेरेशन एशिया प्यासाफिकका अध्यक्ष एकनाथ ढकालले सम्मान गरेका हुन् ।
सम्मानपछि बोल्दै ढकालले शान्तिका लागि आपसी सद्भाव र मेलमिलाप अपरिहार्य रहेको बताउनुभयो । ढकालले समाजका सबै नागरिक सुरक्षित र आत्मसम्मानका साथ बाँच्न सक्ने वातावरण सृजना गर्ने साझा दायित्व नागरिक अगुवाहरुको भएको बताए । ढकालले वजनदार र ठूलो मर्यादा बोकेको यस सम्मानले थप नैतिकवान् बनी विश्व शान्तिको लागि र मानव कल्याणको हितमा लाग्न प्रेरणा मिल्ने बताए ।
विश्व शान्ति तथा एकीकृत परिवार संघ, नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले मानिसको आवश्यकता, परिवर्तित मनोविज्ञान बुझेर सोहीअनुसारको कार्य गर्नु नितान्त आवश्यक रहेकोमा उनले जोड दिए । पौडेलले जोश–जाँगरको घडा, अरूका लागि बाँच्न सक्ने, नैतिकवान् र सिर्जनशीलता युवामा हुनुपर्नेमा जोड दिए । उनले कार्कीको मन ठूलो भएको र उनी गतिशील मान्छे भएको बताए । उदेश्यप्रेरित गतिशील समाजसेवाबाट कहिल्यै नथाक्ने समाजसेवी कुमार कार्की हामी सबैको प्रेरणाको स्रोत भएको उनले बताए ।
युनिर्भसल पीस फेडेरेशन नेपालका महासचिव विनोद डाँगीले युवालाई सही मार्ग देखाउने असल परिवार बनाउने तथा राष्ट्र बनाउने यो अभियानमा एउटा सहयात्री भेटेको भन्दै खुशी व्यक्त गरे । उनले युनिर्भसल पीस फेडेरेसनले संयुक्त राष्ट्र संघसँग मिलेर धेरै काम गरेको बताउँदै समाजप्रति थप जिम्मेवार भएर अगाडि बढ्न कार्कीलाई सुझाव दिए ।
सम्मानित सानछाई श्रेत्री (कुमार कार्की) ले संस्थाले आफूलाई सम्मानका लागि लायक सम्झेकोमा आभार व्यक्त गर्दै विश्व शान्तिको यो अभियानमा आफूले पनि साथ र समर्थन गर्ने बताए । उनले आफू बर्मामा जन्मेर थाईल्यान्डमा कर्म गरे पनि आफ्नो पितृभूमि नेपालको विकासका लागि जीवनभर सक्दो पहल गरिरहेने बताए ।
गीतकार प्रकाशपुञ्जले सञ्चालन गरेको सो कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्कीकै सक्रियतामा नेपालमा ०७२ सालको भूकम्पपश्चात काभ्रेको मेलम्चीमा रहेको माझी गाउँमा ४६ घर निर्माण गरिएको थियो । भूकम्पको बेला नेपालमा ब्लड संकलन तथा खाध्य सामग्री बितरणमा पनि उनले उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
कार्की कुशल व्यवसायी हुनुका साथ कलाकारसमेत हुन् । उनले प्रेमगीत–२ मा अभिनयसमेत गरेका छन् भने उनले लेखेको कृति एक महिनापछि सार्वजनिक हँुदैछ ।