शुरेन्द्र गाउँले
आजकल मानिस सार्वजनिक यातायातको कुरा गर्ने बितिकै खचाखच मान्छे अनि चालक र सह-चालकको अभद्र व्यवहार र गाली सम्झिनछन् | बिचरा सोझा साझा नेपाली तेसमाथि महिला र वृद्ध प्रतिकार नगरी चुपचाप लागेर सहन बाध्य पारिन्छ | हाम्रो कानुनले अभद्र व्यवहार गर्न नहुने महल र गाली गर्न नहुने महल अन्तर्गत मुद्दा चलाएर सो बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाइ एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको प्रावधान भएपनि मानिसहरूलाइ सहन बाध्य पारिन्छ |
सार्वजनिक यातायातमा हुने डर लाग्दो कार्य यौन दुर्व्यवहार अथवा हिंसा हो | सामान्य रुपमा यौन दुर्व्यवहार भन्नाले कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाइ निजको मन्जुरी बिना करणीका आशयले समातेमा वा निजको संबेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले वाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लागेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसङ्ग अश्लिल वा अन्य तेस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा वा विधुतीय माध्यामबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निज सङ्ग अस्वाभाविक, अवान्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मान्दछ र यौन दुर्व्यवहार गर्ने व्यक्तिलाइ तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ | तर सार्वजनिक यातायातमा हुने महिला हिंसा तथा दुर्व्यवहारका घटना धेरैका लागि खासै चासोको विषय बन्दैन । त्यसो त र्दुव्यवहारमा पर्ने महिला स्वयमले पनि प्रतिवादमा उत्रिने वा कानुनी कारबाहीका लागि उजुरी दिने आँट गर्दैनन् । पछिल्लो समय सार्वजनिक यातायातमा यौन हिंसाबाट पीडित हुने किशोरीको संख्या बढ्दो छ ।
म भर्खरैमात्र घटेको एउटा घटनाको अनुभव सुनाउन चाहन्छु | एक मध्यदिन मा नेपाल यातायात को बसमा एक जना युवती यौन दुर्व्यवहारको शिकार भईन | हेर्दा पढेलेखेको र नयाँ पुस्ताको महिलालाइ नेतृत्व गर्नेखालकी युवतीले कुनै पनि खालको प्रतिकार गरिनन् | युवकको हात युवतीको संबेदनशील अङ्ग देख्न साथ हातहालाहालको अवस्था सिर्जना भयो र बसमा हल्लाखल्ला मच्चियो | उक्त युवकले क्याप, चस्मा र मास्क ले आफ्नो अनुहार ढाकेका थिए | उक्त युवकलाई युवतीले नचिनेको कुरा पनि बाहिर आयो |
युवती को अनुहार डरले रातो निलो भैसकेको थियो र केहि बोल्न नसक्ने अवस्था मा थिईन, सायद ति युवती कल्पना नगरेको घटना को शिकार हुनु परेकोले होला | बसमा हल्लाखल्ला भैसकेपछी घटनाको बारेमा सबै यात्रु जानकार भए र एक जना छेउमा बसेकी अर्को युवती ले पनि सबै घटना सुरु देखिनै देखेकी रैछ | अचम्मको कुरा के थियो भन्दा, अगाडीनै देखिसकेर पनि प्रतिकार गर्ने आट गरिनन् | युवक समातिए र बसमा सवार केहि मानिस युवकलाइ कुटेर छोड्ने कुरा गर्दै थिए भने केहि प्रहरीलाइ जिम्मा लाउनु उचित भन्दै थिए | परिस्थिति हेर्दा कसैलाई कानुनको विश्वास थिएन त कसैलाई पीडितलाइ झन् पिडा हुन्छ भन्ने भावना तर पछि युवकलाइ प्रहरी चौकी लगियो र उजुरी गरियो | प्रहरीले घटनाको विवरण र बयान लियो र अभियुक्तलाइ थुनामा राखियो | पीडित युवती प्रहरी चौकी मा झन् डराईरहेकी थिई, नडराउनु नी कसरी, तेत्रो चौकीमा पुरुष प्रहरी र अभियुक्तको अगाडी उनलाई घटनाको विवरण र प्रश्न सोधीदै थियो | आग्रह गरे पछी बल्ल पीडित युवतीलाई महिला सेलमा लगेर बयान लिईयो | केहि समय पश्चात युवतीको दिदि हरु अतालिदै आइपुगे, उनीहरु को कुरा सुन्दा र हाउभाउ हेर्दा दिदिहरुहरुलाइ बहिनीको भन्दा नी समाजले थाहा पाउने र इज्जत जाने को चिन्ता थियो | केहि समय इन्स्पेक्टर साहब बीच घटना को बिषयमा कुरा भयो, सम्पर्क नम्बर र ठेगाना टिपायौ र त्यहाँ बाट आफ्नो काम पुरा गरेर निस्कियौ र अभियुक्तलाइ यौन दुर्व्यवहारको मुद्दा चल्यो | हालै घटेका यी केही उदाहरण मात्र हुन् । पछिल्लो समय सार्वजनिक यातायातमा यौन हिंसाबाट पीडित हुने किशोरीको संख्या बढ्दो छ ।
यस बाट सार्वनजिक यातायातमा हुने दुर्व्यवहार पनि अन्य यौनजन्य दुर्व्यवहारभन्दा कम होइन भन्ने चेतनाको कमी देखिएको छ | समाजले पनि उमेर पुगेकालाई जिस्कायो भन्दिने चलन छ | तर, यो अपराध हो र हिंसा बढ्नुको एउटा मुख्य कारण पनि |
तर अझै खतरा र भय के छ भने, मानिसको संरक्षण र शान्ति सुरक्षा कायम गर्नप्रति जो उत्तरदायी र जिम्मेदार छन्, उनीहरूनै उल्लङ्घनको जिम्मेदार पनि | यो घटनामा पनि कुरा गर्ने क्रममा इन्स्पेक्टर साबले एउटा एस्तो प्रश्न गर्नु भयो जसले स्तब्ध र अचम्म बनाउने खालको थियो, “आजकलका केटी हरु छोटो छोटो, प्वाल परेको टिमिक्क परेको लुगा लाउछन् अनि केटाहरू उत्तेजित भैहालछनी, के तपाईको उत्तेजना बढ्दैन?”| धन्न पीडित युवतीले तेस्तो खालको पहिरन लगाएकी थिईनन् नत्र उनलाई प्रहरीले हेर्ने दृष्टिकोणनै अर्कै हुन्थ्यो होला | इन्स्पेक्टर साबको कुरा सुनेर सम्झिए भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कानुनी व्यवस्था जसमामा कानुन बमोजिम अधिकार प्रयोग गर्ने अधिकारीले त्यस्तो अधिकार वा सामान्य कानुन वा सामान्य कानुनको प्रयोग गर्दा लिङ्गको आधारमा कुनै पनि नागरिकमाथि जानीजानी भेदभावपूर्ण व्यवहार गर्न हुदैन र यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाइ तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था |
हाम्रो संविधानले लैंगिक विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ र प्रत्येक महिलालाइ लैंगिक भेदभाव बिना समान वंशीय हक, प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गरेको छ | महिला विरुद्ध धार्मिक, सामाजिक, संस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोबैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्चित गरिएको छ | राज्यका सबै निकायमा महिलालाइ समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक, महिलालाइ शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक, सम्पति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक, पैतृक सम्पतिमा लैंगिक भेदभाव बिना सन्तानको समान हक आदि सुनिश्चित गरेको छ |
तर कार्यन्वयन पक्ष कमजोर हुनाले हिंसा र विभेदलाइ सामाजिक तथा पारिवारिक समस्याको रुपमा हेर्ने गरिएको छ | यस मनोविज्ञानले समाजमा नराम्ररी जरो गाडेको छ | यसर्थ, महिलाहरु न्यायको पहुचबाट धेरै पर छन् | पुहुचविहिन उनीहरू मुद्दा अदालती प्रक्रियासम्म आउने सक्दैनन् | यसले पीडकलाई प्रोत्साहन मिल्ने भएकाले महिला माथी हुने अपराधिक घटना दिनानुदिन बढ्दै गएको छ | यस कारणले महिलाहरू स्वन्त्रताको हक र समानताको हक बाट पनि वन्चित हुनु परेको छ | कानुन बन्नु मात्रै पर्याप्त हुदैन | महिला, पुरुषलगायत अन्य सरोकारवालाहरुबीच कानुनि चेतना अत्यावश्यक हुन्छ | मानिसमा चेतना नभए सम्म सार्वजनिक सवारी साधनमा हुने महिला हिंसा विरुद्ध महानगरीय प्रहरीको अभियान ‘Safety pin Campaign’ को पनि केहि प्रभाव पर्ने वाला छैन | सेफ्टी पिन अभियान अन्तरगत सादा पोशाकका प्रहरी सार्वजनिक यातयातमा खट्ने गरेका छन् | सेफ्टी पिन अभियानमा कार्यरत् एक अधिकारीका अनुसार पनि सार्वजनिक यातायातमा हुने हिंसाका अधिकांश घटना मिलापत्रमा टुंगिने गरेका छन् । कतिपयमा पीडित प्रहरीको सम्पर्कमै आउन मान्दैनन् । आए पनि किटानी जोहरी दिन अन्कनाउँछन् ।
पितृसत्तात्मक सोच, मूल्य र मान्यतावाट जकडिएको हाम्रो जस्तो समाजमा महिला र पुरुषलाइ हेर्ने दृष्टिकोणमा समानता आएको छैन | महिला भएकै कारण हुने विभेद र हिंसा अहिले पनि हाम्रो समाजमा ब्याप्त छ | महिलाको समानता, स्वन्तन्त्रता र पहिचानमा ध्यान नदिई महिलालाई अधिनस्थ, परनिर्भर, विभेदित र संरक्षण गर्नुपर्ने वर्गको रुपमा हेरिदा हिंसा तथा विभेदले प्रश्रय पाएको छ | पितृसत्तात्मक सोच तथा मूल्य मान्यताबाट जकडिएको नेपाली समाजमा महिलालाइ दोस्रो नागरिकको रुपमा हेर्ने तथा पराईको सम्पतिको रुपमा लिने प्रवृति अहिले पनि कायमै छ | छोरीलाइ बोझको रुपमा लिने सोचमा अझै परिवर्तन आउन सकेको छैन |
यदि महिला हिंसा र विभेद अन्त्य गर्नु छ भने राज्यले गरेर मात्र हुदैन, महिलाहरू मिलेर आफै लड्नु पर्छ | सबै भन्दा पहिले महिलाले आफ्नै घर र परिवार बाट गरेको विभेदपूर्ण निर्णयहरूलाइ नाई भन्न र विरोध गर्न सिक्नु पर्छ | जब महिला आफ्नै बाट शोषित हुन्छन्, अवाज सुनिदैन र प्रतिकार वा प्रश्न गर्न सक्दैनन् भने महिलालाई दिईएको हक अधिकार र महिलाले पाएको विश्वविधालयको शिक्षाले कुनै अर्थ राख्दैन | महिलालाइ बाहिर समाज ले नी शोषण र विभेदको नजर लेनै हेर्छ र महिला हिंसा को सिकारमा पर्छन | महिलालाइ थाहै नभई शोषित हुने बानी महिलाकै परिवारले सिकाइसकेको हुन्छ र महिला संग प्रतिकार गर्ने शक्ति हुदैन, नेपाल यातायातमा दुर्व्यवहारमा परेकी युवती जस्तै |