सुन्दरीजल–पशुपतिमा ५० हजार बोलबम यात्री

प्रकासित मिति: १६ श्रावण २०७४, सोमबार १५:०१

काठमाडौँ, १६ साउन । साउनको तेस्रो सोमबार आज ५० हजार बोलबम यात्रीले सुन्दरीजलस्थित वाग्मती नदीबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेका छन् ।

भोलेनाथ काँवरिया संघको आयोजनामा भएको सुन्दरीजल–पशुपति बोलबम यात्रामा बालकदेखि वृद्धसम्मले खाली गोडा ११ किमी हिँडेर जल अर्पण गरेका थिए । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । अठार वर्षअघिदेखि सुन्दरीजल–पशुपति बोलबम मेला सुरु भएको हो ।

सुरुमा तराई÷मधेशका मानिस मात्र सो यात्रामा सहभागी हुने गरेकामा अहिले पहाडी समुदायका मानिसको संख्या पनि उल्लेख्य रुपमा बढ्न थालेको छ । तराईबासीले शिव मन्दिरमा शुद्ध जल चढाउँथे भने पहाडमा साउन महिनामा घरमै रुद्राभिषेक गर्ने प्रचलन थियो । तराई मूलका मानिसले सुन्दरीजल–पशुपति बोलबम यात्रा गरेको देखेर आफू यात्रामा पाँच वर्षदेखि सहभागी हुँदै आएको जोरपाटीका प्रल्हाद पुडासैनीले सुनाउनुभयो ।

पहेँला कपडामा सजिएका बोलबम यात्री खाली गोडा ठूलो स्वरमा ‘बोल बम’ अर्थात् ‘शिव भन्’ भन्दै ११ किमी यात्रा गर्दा बाग्लुङबाट काठमाडौँ आई अध्ययन÷अध्यापनमा लाग्नुभएकी इन्दिरा राना मगरलाई पनि आकर्षित ग¥यो । उहाँले आफू सात वर्षदेखि साउनको सोमबार सुन्दरीजल–पशुपति बोलबम यात्रामा सहभागी हुँदै आएको सुनाउनुभयो ।

यात्रीले लठ्ठी (काँवर) मा दुईतिर जल झुन्ड्याएर सो यात्रामा सहभागी हुने गरेका छन् । पछिल्ला वर्षमा काँवरविना नै बट्टामा जल हालेर पहेँलो झोलामा राखी ल्याउने भक्तजन बढ्न थालेका छन् । सुन्दरीजलबाट शुद्ध जल लिई आउनेलाई पशुपति क्षेत्र विकास कोषले पनि लाम नबसीकन जल चढाउने व्यवस्था गरेको थियो । कोषका निर्देशक एवम् गुठी तथा पशुपति मन्दिर शाखा प्रमुख भोला सिटौला बोल बम यात्राले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताउनुहुन्छ । “यो यात्राको प्रवद्र्धन गर्न सके साउनमै धेरै भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सकिन्छ, यसतर्फ सम्बन्धित सरकारी निकायका पनि ध्यान जानु आवशयक छ”–उहाँले भन्नुभयो ।

पशुपतिनाथलाई बाह्र ज्यातिर्लिंगको पनि शिर मानिएकाले भारतबाट समेत प्रत्येक वर्ष जल चढाउन दर्शनार्थी आउने गर्छन् । सुन्दरीजल–पशुपति बोल बम यात्रा भारतका विभिन्न स्थानमा गरिने यात्राभन्दा फरक रहेको यात्राका लागि आउनुभएका कमलेश अग्रवालले बताउनुभयो । साउनको तेस्रो सोमबार आज पशुपतिमा सवा दुई लाख भक्तजनले दर्शन गरेको कोषले जनाएको छ । बिहान साढे तीन बजेदेखि दर्शनार्थीका लागि पशुपतिका चार वटै ढोका खोलिएको निर्देशक सिटौलाले जानकारी दिनुभयो ।
प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले आज बिहान पशुपतिको दर्शन गर्नुभयो । उहाँले साउनको पहिलो सोमबारदेखि नै दर्शन गर्दै आउनुभएको छ । आज पशुपतिनाथ मन्दिरमा ३३५ र वासुकी मन्दिरमा ९४ विशेष पूजा भएको कोषले जनाएको छ ।
नागेश्वरमा भीड

पेप्सीकोलास्थित प्राचीन एवं धार्मिक महत्वको प्रसिद्ध नागेश्वर महादेव मन्दिरमा आज झण्डै ६० हजारभन्दा बढी भक्तजनले पूजाआजा गरेका छन् । आज बिहान ३ बजेदेखि नै मन्दिरमा ठूलो भीड लागेको थियो । मन्दिरमा बिहान र बेलुका नित्य पूजा र साँझ हुने आरतीमा भारतका तीर्थयात्री समेत आउने गरेको समाजसेवी प्रकाश रायमाझीले बताउनुभयो ।

साउनमा नागेश्वरको दर्शन गर्नाले मुद्दामामिला र अनेकौँ झन्झटबाट मुक्त हुनाका साथै कालसर्प दोषसमेत निवारण हुने शास्त्रीय मान्यता रहिआएको छ ।

Bhansar Bivag
Argakhachi Cement