एनपिएनओजीले सूचना प्रविधि सम्मेलन गर्ने

प्रकासित मिति: २५ जेष्ठ २०७४, बिहीबार १३:५३

इन्टरनेट  सेवा प्रदायक एवं सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपिएनओजी) ले आउँदो असार १ देखि ४ गते सम्म एनपिएनओजी–२ नामक चार दिने कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक व्यक्तिहरुका साथै प्रविधिको अनुसन्धान एवं शिक्षण संलग्नहरु बिच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ । कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्नेछन् ।

 

काठमाडौँमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत पहिलो तीन दिन प्राविधिक विषयवस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ भने चौथो तथा अन्तिम दिन सम्मेलन आयोजना गरिने छ । कार्यशाला गोष्ठि होटल यल्लो प्यागोडामा आयोजना हुनेछ भने सम्मेलन मल्ल होटलमा आयोजना गरिने छ । तीन दिने कार्यशाला गोष्ठिमा विभिन्न तीन विषयमा छलफल एवं कार्यपत्र प्रस्तुत गरिनेछन् । पहिलो विषयमा IPv4/IPv6 मा नेटवर्क डिजाईन, दोश्रो विषयमा नेटवर्क अनुगमन एवं व्यवस्थापन तथा तेश्रो विषयमा अप्टिकल फाइबर नेटवर्क डिजाईन रहेको छ ।

 

कार्यशाला गोष्ठिमा एनपिएनओजीका सदस्य विशेषज्ञहरुका साथै केहि अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ज्ञान एवं सीप आदानप्रदान गर्नेछन् । यो कार्यक्रम स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत् विधाथी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुनेछ । गोष्ठिमा सहभागी हुन चाहने विद्यार्थीहरुका लागि लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी कार्यक्रममा सहभागीताकोलागि छात्रवृत्ती समेत दिइने छ जसमा ४० प्रतिशत महीला सहभागी शुनिश्चित गरिएको छ ।

 

कार्यक्रमको अन्तिम दिनमा आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिनेछन् । सम्मेलनको मुख्य वक्ताका रुपमा फेसबुकका प्रतिनिधी म्याट जान्सेन रहेनछन् ।

एनपिएनओजीका अध्यक्ष समित जनका अनुसार यो कार्यक्रमले सूचना तथा संचार प्रविधिको विश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने छ ।

 

कार्यक्रमको सहआयोजकको रुपमा इन्टरनेट एक्सचेञ्ज नेपाल रहेको छ भने कार्यक्रमलाई दुरसंचार प्राधिकरण, कम्प्युटर महासंघ, इन्टरनेट सेवा प्रदायक संघ, एनआरइएन र आईएसओसीले साथ दिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement