माटोमा लाग्ने भन्सारले उद्योग संकटमा

प्रकासित मिति: ११ भाद्र २०७३, शनिबार १५:४६

काठमाडौं । सबैलाई पत्याउन गाह्रो होला । माटो पनि भन्सार तिरेर आयात गरिन्छ भन्ने सुन्दा । तर, खास प्रयोजनमा प्रयोग हुने माटो भन्सार तिरेर विदेशबाट नै आयात गरिन्छ । त्यसो गर्नु नेपाली व्यवसायीको बाध्यता पनि हो । लामो समयदेखि सेरामिक्स उद्योगमा प्रयोग हुने माटो भन्सार तिरेर भारतबाट आयात हुँदै आएको छ ।
आधुनिक सेरामिक्सका सामान बनाउन प्रयोग गरिने माटो भारतबाट ल्याउनुपर्छ । भारतबाट आयात हुने उक्त माटो खरिद गर्दा व्यापारीले लगभग २४ प्रतिशत कर र भ्याट तिर्नुपर्छ । आधुनिक र अत्याधुनिक सेरामिक्स उद्योग नगन्य मात्र रहेकाले हरेक वर्ष नेपालमा माटोबाट बन्ने समानको आयात बढेको छ । यस वर्ष चार अर्ब ३७ करोड २९ लाख ७५ हजार रुपैयाँको विभिन्न प्रकृतिका माटोबाट निर्मित सामान भित्रिएको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाको भनाइ छ ।
नेपालले घरायसी रूपमा प्रयोग हुने उक्त सामान विश्वका २८ मुलुकबाट आयात गर्ने गरेको छ । भारत, चीन, जर्मनी, बेलायत, थाइल्यान्ड, मलेसिया, भियतनाम, दुबई, स्पेन, इटाली, अर्जेन्टिना, स्विडेन, श्रीलंका, स्वीजरल्यान्ड, अस्ट्रिया, बंगलादेश, टर्की, दक्षिण कोरिया, कतार, जापानलगायत देशबाट उक्त सामान आयात गर्ने गरेको पाइएको छ ।
भान्छामा प्रयोग गरिने कप तथा डिनर प्लेट, सजावटका सामग्री एवं शौचालयमा प्रयोग गरिने टायल, प्यानलगायत सामान ती देशबाट आयात हुँदै आएका छन् । आयात प्रतिस्थापन गर्न सरकारले स्वदेशमा कच्चा पदार्थ उत्पादन तथा उत्खनन गर्नुपर्ने हुन्छ । सेरामिक्स उद्योगको सम्भावना छ । तैपनि, यस वर्ष यहाँबाट पाँच करोड ५७ लाख ७२ हजार रुपैयाँको सेरामिक्स (हस्तकला) प्रयोजनका सामान निर्यात भएको छ ।
‘माटो र श्रमशक्तिबाहेक अधिकांश कच्चा पदार्थ भारतबाट आयात हुन्छ । सरकारले भन्सार छुट दिने हो भने मात्र आधुनिक सेरामिक्स उद्योग चलाउन सकिन्छ,’ नेपाल सेरामिक्स सहकारी संस्थाका अध्यक्ष विक्रम प्रजापतिले भने । उद्योगी दिनेश प्रजापतिले कहिलेकाहीँ कच्चा पदार्थ आयातका नाममा भन्सारबाट तयारी सेरामिक्सका सामान भित्रँदा स्वदेशी उद्योगले प्रतिपस्र्धा गर्न नसकी दर्जनौँ उद्योग बन्द भएका उदाहरण दिए । ‘नेपालमा सेरामिक्स उद्योग सञ्चालनमा आएको झन्डै ३० वर्ष पुगेको छ । तर, परम्पराभन्दा माथि उठ्न सकेन,’ उद्योगी शिवशंकर प्रजापतिले भने ।
धातु, स्टिल र प्लास्टिकका भाँडाकँुडा नपाइँदा मानिसले आफ्नो जीवनगुजारा गर्न माटाका थाल, गाग्रो, बचत गर्ने भाँडो (खुत्रुके) लगायत सामान निर्माण गर्थे । समयसँगै परम्परागत भाँडाको सट्टामा अत्याधुनिक भाँडाको प्रयोग गर्न थाल्यो । क्रमशः विश्वमा आधुनिक सेरामिक्सका सामान प्रयोग हुन थाले । तर, नेपालमा अझैसम्म स्वेदशलाई धान्न सक्ने सेरामिक्स उद्योग सञ्चालनमा ल्याउन सकिएको छैन ।
विश्वमा सबैभन्दा धेरै सेरामिक्सका सामान प्रयोग गर्ने देश चीन हो । चीनले भान्सामा अधिकांश सेरामिक्सका भाँडा प्रयोग गर्छन् । सेरामिक्स उद्योगतर्फ विश्वले आफूलाई अत्याधुनिक र आधुनिक बनाउँदै लगे पनि यहाँ स्थापना भई सञ्चालनमा रहेका सेरामिक्स उद्योगले हस्तकलाका सामानलाई प्राथमिकता दिएको नेपाल हस्तकला महासंघले जनाएको छ ।
गमला, सामान्य कप, डिनर तथा चिया प्लेट, चुरोटदानी, बालबालिकाका खेलौना, फूलदानी र विभिन्न आकर्षक जनावरका चित्रमा सीमित बन्न गएको सेरामिक्स उद्योगलाई आधुनिक बनाउनु आजको आवश्यकता हो ।

Bhansar Bivag
Argakhachi Cement