मूल्य अभिवृद्धिकर र आयकर परिचालनमा अर्थमन्त्रीको जोड

प्रकासित मिति: ७ असार २०७४, बुधबार १६:१७

काठमाडौँ, ७ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आन्तरिक स्रोतको प्रभावकारी परिचालन बिना आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सम्भव नहुने भएकाले त्यसका लागि मूल्य अभिवृद्धिकर र आयकर परिचालनलाई विशेष महत्व दिनुपर्नेमा जोड दिनुभएको छ ।

अर्थ मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको जेठ महिनासम्मको राजस्व प्रगति समीक्षामा उहाँले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच अवस्थित नेपाल ठूलो अवसर र सम्भावना बोकेको मुलुक भए पनि विकासका सन्दर्भमा प्रशस्त चुनौती रहेकाले स्थायी संयन्त्रका रुपमा रहेको कर्मचारीतन्त्रले आफ्नो काँधमा रहेको जिम्मेवारीलाई सामथ्र्य तथा क्रियाशीलताका साथ निर्वाह गर्न निर्देशन दिनुभयो ।

उहाँले कर्मचारीको योग्यता, दक्षता, विज्ञता, कार्यक्षमता र नतिजाका आधारमा ‘उपयुक्त व्यक्ति उपयुक्त स्थानमा’ को अवधारणाअनुसार मूल्याङ्कन हुने बताउनुभयो ।

अर्थ सचिव शान्तराज सुवेदीले नेपालमा मूल्य अभिवृद्धि कर राजस्व परिचालनको आधार र मूल स्रोत भए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेकोले थप क्रियाशीलता आवश्यक रहेको बताउनुभयो ।

उहाँले राजस्व जोखिमका सम्भावित क्षेत्रमा निगरानी बढाउन, कर बक्यौता असुली र बेरुजु फछ्र्यौटमा जोड दिन सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो ।

महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले राजस्व सङ्कलन एवम् पुँजीगत खर्च गत वर्षको तुलनामा यो वर्ष केही सन्तोषजनक रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व प्रशासन तालिम केन्द्र तथा काठमाडाँै उपत्यकास्थित कार्यालयका प्रमुखहरुले राजस्व सङ्कलन वृद्धि गर्न र चुहावट नियन्त्रणका निमित सम्पादन भएका कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।

अर्थ मन्त्रालयका पदाधिकारीहरु, महालेखा नियन्त्रक, राजस्व सङ्कलनसँग सम्बन्धित विभागका प्रमुखहरु र काठमाडाँै उपत्यकाभित्रका कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको समीक्षा बैठकमा राजस्वको लक्ष्य, असुली तथा अन्य कार्यगत परिसूचकहरुको प्रगतिको समीक्षा भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement