‘लिटिल एन्जल्स’ले लाएको गुन

प्रकासित मिति: ४ भाद्र २०७३, शनिबार ०२:४४

काठमाडौं । प्रसिद्ध कोरियन बाल कलाकार टिम ‘द लिटिल एन्जल्स फ्लक ब्यालेट अफ कोरिया’ले काठमाडौंमा दिएको सांस्कृतिक प्रस्तुती धेरैका लागि नयाँ र अद्भूत थियो । जब लिटिल एन्जल्सको टोली रमणीय कोरियाली धुनका साथ मञ्चमा देखा प¥यो, दर्शकका कान ठाडा भए । आँखा चञ्चल भए र हृदयमा एकसाथ शान्ति र प्रेमको सन्देश छरिएको आभास गरे दर्शकले । युनिभर्सल पिस फेडेरेसन, नेपालको पहल तथा निमन्त्रणामा नेपाल आएको टिमले शनिबार हायात होटलमा आफ्नो प्रस्तुति दिएको हो ।

कोरियाली लोक संस्कृति झल्काउने गीत र उस्तै अद्भूत नाचको तालमा दर्शक मन्त्रमुग्ध बने । हालसम्म विश्वका ५० भन्दा बढी देशमा आफ्नो अद्भूत कला प्रदर्शन गरिसकेको कोरियाली बाल कलाकारको टोलीले सुरुदेखि अन्त्यसम्म निरन्तर दर्शकको साथ पाइरह्यो । कार्यक्रममा पङ्खा नाच, मुखुण्डो नाच, ड्रम नाच, खेत नाच, पुतली नाच, कायाकुम आदि नृत्य साँच्चै अद्भूत थिए । फूलको श्रीपेच, वसन्त, विवाहोत्सव, टोय सोल्डर्ससहितका १२ नृत्य पनि सबैको मन जित्न सफल रहे ।
हेर्दा फूलका थुङ्गा जस्तै कलिला र मनोहर कोरियन बाल कलाकारहरूको उक्त प्रस्तुती सुन्दर र चित्ताकर्षक नहुने कुरै भएन । रंगीचंगी पोशाक लगाएका उनीहरूको सामूहिक नाच त्यस्तै रोमाञ्चक रह्यो । फूलजस्ता कलाकारले नाच्दै, गाउँदै मानिसलाई फूलजस्तै शान्त, कोमल र सुन्दर बन्न प्रेरणामूलक सन्देश लिए । उनीहरूको शान्ति दूतको परिचय समेत झल्कन्थ्यो प्रस्तुतीमा । धार्मिकता र जातीयताभन्दा पर हार्दिकता देखाइरहेका थिए उनीहरू । भाषिक समस्याका बाबजुद पनि उनीहरूले नेपालको राष्ट्रगान ‘सयौं थुङ्गा फूलका हामी…’ सहित ‘यो नेपाली शिर उचाली’, ‘रेसम फिरिरी’, ‘फूलको आँखामा फूलै संसार…’ लगायतका लोकप्रिय नेपाली गीत गाउदा सिंगो हल जुरुक–जुरुक उचालियो । उनीहरूले गीतमार्फत् दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउँदै नेपालीलाई गुन लगाएका छन् ।
लिटिल एन्जेल्सले कोरियाली लोक संस्कृतिलाई एकैमुष्ट देखायो । त्यो ज्यादै हृदयस्पर्शी थियो । कार्यक्रममा उपत्यकाका सयभन्दा बढी विद्यालयका हजार विद्यार्थीहरूको सहभागिता रहेको थियो । लिटिल उन्जल्सबाट नेपाली विद्यार्थी, कलाकार एवं अन्य सबैले धेरै कुरा सिक्न सक्छन् । मुलतः त्यो टिमको अनुशासन, कन्फिडेन्स, टिम वर्क निकै प्रेरक छन् । उनीहरूको निरन्तरता दिने प्रवृत्ति, सबैलाई सम्मान गर्ने क्षमता पनि उत्तिकै प्रंशसनीय छ । यी गुणले गर्दा नै लिटिल एन्जल्स टिमले लोकप्रियता पाएको हो ।
लिटल एन्जल्स टिमका बाल कलाकारले राष्ट्रपति विद्या भण्डारीसमक्ष नेपाली राष्ट्रिय गान गाए । साथै विभिन्न लोकप्रिय गीत प्रस्तुत गरे । ‘सयौं थुङ्गा फूलका हामी, यो नेपाली शिर उचाली… लगायतका नेपाली गीत गाउँदा राष्ट्रपति भण्डारीले अचम्म मान्दै खुसी व्यक्त गरिन् । फूलजस्ता कोरियाली बालिकाहरूले गीतमार्फत् नेपाल र कोरियाबीचको सम्बन्ध अझ सुमधुर पारेको बताउँदै राष्ट्रपतिले प्रशंसा गरिन् । सांगीतिक प्रस्तुतिमा विभिन्न देशमा चर्चित बनिसकेको लिटिल एन्जल्सले राष्ट्रपति कार्यालय शीतल निवासमा न्यानो स्वागत पाएको थियो ।
लिटिल एन्जल्स कलाकार टिमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको थियो । ९ वर्षदेखि १४ वर्षसम्मका टिममा आबद्ध ती बाल कलाकारले नेपालमा विद्यार्थी, बालबालिका, नेता, कलाकार सबैबाट प्रशंसा बटुलेर गए ।
‘दि लिटिल एन्जल्स फ्लक ब्यालेट अफ कोरिया’को स्थापना सन् १९६२ मा डा. रेभन्ड सन म्योङ्ग मुन र हाक जा हान मुनले गरेका थिए । त्यसपछि निरन्तर रूपमा विकास गरिएको उक्त टोली कोरिया बाहेकका देशमा समेत निकै लोकप्रिय चर्चित छ । टोलीमा ४६ जना बाल कलाकार रहेका छन् । यसअघि पनि नेपाल भ्रमण वर्ष २०११ को सुरुवातमै यो टोली नेपाल आएको थियो ।

Bhansar Bivag
Argakhachi Cement